आत्मानन्द कप : सेमिफाइनल समिकरण पूरा

इलाम । इलामको माङ्सेबुङमा जारी १४ औ संस्करणको आत्मानन्द कपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
अन्तिम क्वाटरफाइनल खेलमा मोरङ श्रीजंगा स्पोर्ट्स क्लब बिजयी भएसंगै सेमिफाइनलमा भिड्ने टिम पक्का भएको हो ।
श्रीजंगाले गत संस्करणको विजेता पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब विरुद्ध ४–१ गोल अन्तरको सानदार जित निकाल्न सफल रहयो ।
श्रीजंगाको जितमा सनम भुजेलले ह्याट्रिक गरे । सन्तोष न्यौपानेले एक गोल गरे । मानेभञ्ज्याङका तर्फबाट निश्चल राईले सान्तवना गोल फर्काए ।
श्रीजंगाले अब बिहीबार हुने दोस्रो सेमिफाइनलमा बिबिएफसी क्लब झापा दमकसँग खेल्नेछ ।
पहिलो सेमिफाइनलमा आज (बुधबार) माङसेबुङ गाउँपालिका खेलकुद समिति र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच प्रतिष्पर्धा हुनेछ ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ । विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । व्यक्तिगत विधामा समेत पुरस्कार राखिएको छ ।
जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा बर्सेनि माङसेबुङमा आत्मानन्द गोल्डकप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।