काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिमको प्रर्दशन खस्कदो छ ।
लिगमा दोस्रो चरणको खेलको समाप्तिमा विभागीय टिम पुलिस र एपीएफका प्रशिक्षकले घरेलु लिगमा राम्रो गर्न विदेशी खेलाडीमा जोड दिदै आएका छन् ।
विभागका खेलाडीलाई समावेश गर्दै घरेलु फुटबलमा जम्दै आएका पुलिस र एपीएफ भने पछिल्लो समय विदेशी खेलाडीको अनुबन्धको माग जोड तोडका साथ उठाउँदै आएका छन् ।
उनीहरुको दाबी छ, ‘महिनामा २२ हजार तलब खाने विभागका जवान र महिनामा २ लाख तलब खाने खेलाडीको तुलना हुदैन ।’
यो भन्दा बाहिर निस्किएर दुवै टिमका प्रशिक्षक विभागीय टिमले विदेशी खेलाडी राख्न ढिला गर्न नहुने बताएका छन् ।
उनीहरुको जोड अब शीर्ष डिभिजनको लिगमा टिक्ने र नतिजा निकाल्ने हो भने विदेशी खेलाडी अनुबन्ध गर्न पर्छ ।
तर विभागको चेन अफ कमान्ड, मान, प्रतिष्ठा र स्रोतले विदेशी खेलाडी राख्न विभागीय टिमलाई सहज भने छैन ।
विभागीय टिमको भिडमा आर्मीका प्रशिक्षक नविन न्यौपाने भने आफ्नो टिममा विदेशी खेलाडीको आवश्यकता नभएको बताउँछन् ।
दोस्रो चरणको लिगमा मछिन्द्रविरुद्ध बराबरी खेलेपछि प्रशिक्षक न्यौपानेले भने, ‘आर्मी जस्तो टिमलाई विदेशी खेलाडी चाहिदैन ।’
आर्मी लिगको उपाधि दाबेदार टिम हो । साविक विजेता मछिन्द्रविरुद्ध सोमबार आर्मीले उत्कृष्ट प्रर्दशन गर्यो । तर गोल आर्मीको पनि निस्किरहेको छैन । पहिलो खेलमा पुलिसविरुद्ध १–१ को बराबरी खेलेको आर्मीले दोस्रो खेलमा गोल रहित बराबरीमा चित्त बुझायो ।
मछिन्द्रविरुद्ध आर्मीको आक्रमण अझ फितलो देखिन्थ्यो । आर्मीले मछिन्द्रविरुद्ध कुनै खतरनाक आक्रमण समेत बुन्न सकेन । फरवार्ड लाईनमा समस्या देखिएपनि प्रशिक्षक न्यौपाने घरेलु लिगमा आर्मीलाई विदेशी खेलाडी नचाहिने बताउँछन् ।
न्यौपानेले भने, ‘विदेशी खेलाडी ल्याउन कोशिश गरिरहेको हो । आफ्नै खेलाडीपनि समक्ष छन् । विदेशी खेलाडी आर्मीको टिमलाई चाहिदैन जस्तो लाग्छ ।’
गोलकिपर विकेश कुथु अस्थायी (करार)को रुपमा आर्मीबाट खेल्छन् । भर्खरै जगजित श्रेष्ठ अष्ट्रेलियाबाट खेल्न आएका छन् ।
राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी जगजित बाहिर बस्छन्, तर घरेलु फुटबल खेल्न नेपाल आईरहन्छन् । गत सिजन उनी मनाङमा थिए । यस सिजन आर्मीसँग जोडिए ।
‘जगजित आर्मीमा अनुकुल बन्न खोजिरहेका छन् । आर्मीको गति अनुसार खेल्न सकिरहेका छैनन् । उनलाई समेत आर्मी जस्तो बलियो टिमबाट प्रमाणित गर्ने अवसर हो ।’ मछिन्द्रको खेलपछि प्रशिक्षक न्यौपानेले भने ।
विभागीय टिमले बाहिरका खेलाडीलाई कमै अनुबन्ध गर्छ । स्रोतको अभावका कारण विभागभित्रकै खेलाडीलाई क्लबले तयार गर्दै आएका छन् । राम्रा खेलाडीको बाहिर राम्रो माग हुने भएकाले विभाग भित्रकै खेलाडी समेत जागिर छाडेर ठुला लगानीका क्लबमा अनुबन्ध हुने क्रम बढेको छ ।
सोमबार मछिन्द्रविरुद्ध बराबरीको नतिजापछि प्रशिक्षक न्यौपानेले सन्तुष्ट भावमा असन्तोष व्यक्त गरिरहेका थिए ।
‘धेरै राम्रो फुटबल खेल्यौं । रक्षात्मक रुपमा राम्रो खेल्यौं । त्यही अनुसार फरवार्डमा खेल्न सकेनौं ।’ उनले भने ।
न्यौपानेले आर्मीमा मुख्य समस्या गोल गर्नमा देखिएको बताए । उनले फरवार्ड नवयुग श्रेष्ठको अभाव टिममा देखिएको बताए ।
नवयुगले चोटका कारण यस सिजनको लिग गुमाउनेछन् । त्यही नवयुगको चोट आर्मीका लागि महङ्गो पर्ने देखिन्छ । फरवर्ड लाईनमा कप्तान भरत खवास पनि अब्बल देखिएका छैनन् ।
न्यौपानेले ठुलो टिमसँग अंक जोड्नु उपलब्धिको रुपमा ब्याख्या गरे । मछिन्द्रसँग बराबरी खेल्नुमा उनले सन्तोष ब्यक्त पनि गरे ।
‘स्कोरमा समस्या छ । अभ्यास यसैमा केन्द्रित गरेका छौं । अब खेलाडीमा पनि भर पर्छ । खेलमा गोल देखिएको छैन ।’ उनले भने, ‘गोल निस्कदैन भने उपाधिको कुरा गर्नुको औचित्य हुदैन ।’