काठमाडौं । मछिन्द्र एफसीका प्रशिक्षक प्रवेश कटवालले टिममा सेन्टर फरवार्डको कमी रहेको बताएका छन् ।
धेरै संख्यामा फरवार्ड राखेर चर्चामा आएको मछिन्द्रका प्रशिक्षक कटवालले टिममा अझै फरवार्डकै अभाव रहेको बताए ।
सोमबार आर्मीविरुद्धको खेलपछि पत्रकारमाझ कटवालले भने, ‘फरवार्डकै कमी भयो । टिममा सेन्टर फरवार्डको अभाव देखियो ।’
प्रशिक्षक कटवालका अनुसार सेन्टर फरवार्ड रेजिन सुब्बा चोटका कारण एक महिना मैदान बाहिर रहनेछन् । सुब्बालाई मछिन्द्रले सेन्टर फरवार्डको रुपमा क्लबमा अनुबन्ध गरेको थियो ।
प्रशिक्षक कटवालले आफ्नो मु्ख्य समस्या फरवार्ड लाईनमै रहेको बताए ।
कटवालका अनुसार रेजिन एक महिना मैदान बाहिर छन् । चोटबाट फर्किएका बिमल घर्तिमगर पूर्ण रुपमा फिट भैसकेका छैनन् । विदेशी खेलाडी नुर्लान समेत पर्फेक्ट फरवार्ड पोजिसनका हैनन् ।
अभिषेक रिजालले अभ्यासमा राम्रो गरेका छन्, तर खेलमा त्यो देखिन पाएको छैन ।
‘अभ्यास अनुसारको प्रर्दशन गर्न अभिषेकलले सकेका छैनन् । उनमा आत्मविश्वासमा कमि देखिन्छ ।’ कटवालले भने ।
यस सिजनको लिगका मुख्य दुई दाबेदार मछिन्द्र र आर्मी लिगको दोस्रो चरणमा भेट गरेका थिए । दुवैले दशरथ रंगशालामा गोल रहित बराबरी खेल्दै अंक बाँडे ।
‘ठुलो खेल थियो । दुवै टिम उपाधिका लागि दाबेदार थिए । तर तीन अंक हासिल गर्न सकिएन । प्राप्त अवसर सदुपयोग पनि भएन ।’ प्रशिक्षक कटवालले भने ।
प्रशिक्षकका अनुसार मछिन्द्रले आर्मीविरुद्ध क्षमता अनुसारको खेल्न सकेन । खेलाडीले अपेक्षा अनुसारको प्रर्दशन विभागीय टिमविरुद्ध गर्न सकेनन् ।
‘आर्मी आफैमा बलियो टिम हो । क्षमता अनुसारको खेलाडीले खेल्न सकेनन् ।’ उनले भने, ‘आर्मीविरुद्ध खेल्न सधै गाह्रो हुन्छ । आर्मीले मछिन्द्रविरुद्ध अझ उत्कृष्ट खेल्यो ।’