काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सोमबार ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेलेका हुन् ।
एनआरटीसँग बराबरी खेलेपछि ब्रिगेडका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पहिलो हाफमा आफ्नो टोलीलाई खेल्न गार्हो भएको बताए । उनले पाएको अवसर सदुपयोग नभएको समेत बताए ।
'पहिलो हाफमा अलि गाह्रो भयो । तर, दोस्रो हाफ बराबरी जस्तै थियो । हामीले केही अवसर बनाएका थियौं । उनीहरुले पनि राम्रै खेले । केही अवसर बनाएको थियो,' उनले भने ।
एनआरटीका सहायक प्रशिक्षक जीवन सिन्केमानले टिम अझै सेट हुन नसकेको बताए ।
'खेल हाम्रो योजना र तयारी अनुसार हुन सकेन । बल पोजिसन नै राख्न सकेनौ । मिस पास धेरै भए,' उनले भने, 'तयारी गरेको एक महिना भइसकेको छ । तर, पनि टिम सेट हुन सकिरहेको छैन ।'