काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेलेका हुन् ।
खेल दुबै टोलीले पाएको अवसरमा गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।
खेलको १८ औं मिनेटमा एनआरटीका दर्शन गुरुङको प्रहार ब्रिगेडका गोलकिपर पूर्ण लिम्बु चेम्जोङले उत्कृष्ट बचाउ गरे ।
एनआरटीले ४३ औं मिनेटमा गोलको अवसर गुमायो । स्टेफेन बिनोङको क्रसमा रन्जन विष्ट ट्याप इनमा गोल गर्न असफल रहे ।
ब्रिगेडका दिनेश राईले ५० औं मिनेटमा पेनाल्टी क्षेत्रबाट प्रहार गरेको सशक्त प्रहार क्रसबार भन्दा केहि माथिबाट बाहिरिएको थियो ।
खेलको ६० औं मिनेटमा एनआरटीका दर्शन गुरुङको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो ।
खेलको ६५ औं मिनेटमा ब्रिगेडका मिडफिल्डर दिनेश राईले सिक्स यार्ड बक्सको एजबाट प्रहार गरेको बल एनआरटीका गोलकिपर अजित प्रजापतिले पन्च गर्दै बचाएका थिए ।
अशोक थापाको कर्नरमा ६७ औं मिनेटमा एनआरटीका स्टेफेन बिनोङको फ्री हेडरले पोस्टको दिशा लिन सकेन ।
ब्रिगेडका कप्तान रोशन राना मगरले ७३ औं मिनेटमा पेनाल्टी एरियाको ठिक बाहिरबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।
खेलको इन्जुरी समयमा ब्रिगेडका रुडी जुनियरले पेनाल्टी एरियाबाट प्रहार गरेको बल एनआरटीका गोलकिपर अजितले उत्कृष्ट बचाउ गरे ।
यस बराबरीसँगै ब्रिगेडले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपीएफलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।
एनआरटीको यो पहिलो १ अंक हो । पहिलो खेलमा एनआरटी साविक विजेता मछिन्द्र एफसीसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।
खेलमा ब्रिगेडका शिशिर लेखी म्यान अफ दि म्याच चुनिए ।
लिग अन्तर्गत नै आज हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।