काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित सेन्ट इटिएनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको २३ औं मिनेटमा डेनिस बोउअंगाले गोल गर्दै सेन्ट इटिएनलाई अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा टिमोथी कोलोडजिकजाकले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटियो ।

पहिलो हाफको इन्जुरी समयमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा फर्काए ।
७९ औं मिनेटमा एन्जल डी मारियाले गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा मार्क्विन्होसले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए ।
जितसँगै पीएसजीले १५ खेलमा ४० अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।
सेन्ट इटिएन १२ अंक जोडेर २० औं स्थानमा रहेको छ ।
