खराब कीर्तिमानतिर आयुब

काठमाडौं। एसिया कप २०२५ मा पाकिस्तानका ओपनर साइम आयुब लगातार खराब फर्ममा देखिएका छन्।
टोलीका लागि तीन टी–२० खेलमा उनले ओपनिङ गर्दै कुनै पनि इनिङ्समा रनको खाता खोल्न सकेका छैनन्। यसरी लगातार तीन इनिङ्समा शून्यमा आउट हुँदा उनले नचाहिने कीर्तिमान बनाएका छन्।
एसिया कपको पहिलो दुई खेलमा भारत र ओमानविरुद्ध पहिलो बलमै आउट भए। बुधबार युएईविरुद्धको खेलमा पनि पहिलो बलमा टिक्न सके। तर, अर्को बलमै डिप थर्ड म्यानमा क्याच दिँदै आउट भए। यससँगै उनले आफ्नो ४२ खेलको टी–२० करिअरमा आठौं पटक शून्यमा आउट हुने कीर्तिमान बनाए।
योसँगै आयुबले ओपनरको रूपमा लगातार तीन इनिङ्समा शून्य रनको कीर्तिमना बनाएका छन्। अन्तर्राष्ट्रिय टी–२० मा यस्तो घटना ६ जना खेलाडीसँग मात्रै घटेको छ। यसअघि पाकिस्तानका पूर्वखेलाडी मोहम्मद हफिज सन् २०१२ मा श्रीलंकविरुद्ध एक खेल र इङ्ल्यान्डविरुद्ध दुई खेलमा लगातार शून्यमा आउट भएका थिए।
यस कीर्तिमानमा पछि रुवाण्डाका इमानुएल साबेरिम, नेपालका कुशल भुर्तेल, थाइल्यान्डका चालोएमओङ चाटफाइसन र सिंगापुरका आर्नाभ मनोज पनि थपिए।
संपूर्ण पोजिसन हेर्दा हालसम्म ५६ जना अन्तर्राष्ट्रिय क्रिकेटर लगातार तीन टी–२० इनिङ्समा शून्यमा आउट भएका छन्। यसमध्ये श्रीलंकाका दासुन शनाकाले दुई पटक यस्तो ‘ह्याट्रिक’ पूरा गरेका छन्। साथै, विश्वभरि चार खेलाडीले लगातार चार इनिङ्समा शून्य रन बनाउने विश्व कीर्तिमान राखेका छन्।
यो सूचीमा पनि पाकिस्तानका एक खेलाडीको नाम अग्रस्थानमा छ। सन् २०२० मा न्यूजील्यान्डविरुद्ध दुई खेलमा शून्यमा आउट भएका अब्दुल्लाह शफिक साढे दुई वर्षपछि टोलीमा फर्केपछि अफगानिस्तानविरुद्ध लगातार दुई खेल शून्यमा आउट भएका थिए।
सन् २०२३ मा हङकङका अनास खान र त्यसपछि टर्कीका जाफर दुरमुज तथा आइभोरी कोस्टका ओउतारा जाकारिजा पनि यस सूचीमा समावेश भएका थिए। आयुबलाई आगामी खेलमा यो लज्जास्पद कीर्तिमान सच्याउने चुनौती छ। त्यही चुनौती लिएर उनी मैदानमा उत्रिने छन्। तर, उनको लक्ष्य स्पष्ट छ– अब रन बनाउँदै टोलीको जितमा योगदान दिनुपर्छ।