काठमाडौं । एक टोलीमा खेलाडी अपुग भएपछि पोर्चुगलमा शीर्ष डिभिजनको फुटबल खेल बिचमै रोक्नु परेको छ ।
बेनफिकाविरुद्धको खेलका क्रममा बेलेनेन्सेसका केवल ६ खेलाडी मैदानमा बाँकी रहेपछि दोस्रो हाफमा खेल स्थगित गरिएको थियो ।
खेलको सुरुआतमा बेलेनेन्सेसले दुई गोलरक्षकसहित ९ खेलाडी मैदानमा उतारेका थिए ।
एक गोलरक्षक समेत डिफेन्समा उत्रेका थिए ।
कोरोना भाइरसका कारण १७ मध्ये केवल ९ खेलाडी उपलब्ध हुदा पहिलो हाफमै बेलेनेन्सेस ७–० ले पछि परेको थियो ।
खेलाडी घाइते भएपछि दोस्रो हाफको सुरुआतमा बेलेनेन्सेसले केवल ७ खेलाडी मैदानमा उतारेको थियो तर थप एक खेलाडी घाइते भएपछि उनीहरु ६ खेलाडीमा सिमित भए ।
जसका कारण खेल स्थगित गर्नु परेको थियो ।
बेनफिकाका अध्यक्ष रुई कोस्टाले आफ्नो टोलीलाई उक्त खेल खेल्न बाध्य पारिएको बताए ।
उनका अनुसार लिग अधिकारी तथा स्वास्थ्य अधिकारीले खेल रोक्न सक्थ्यो तर उनीहरुले त्यसो गरेनन ।
कोस्टाले पोर्चुगलको फुटबल र देशकै लागि एक कालो दिन भएको प्रतिक्रिया दिए ।
लिग तालिकामा बेनफिकापछि तेस्रो स्थानमा रहेको स्पोर्टिङ लिसबोनले विज्ञप्तीमार्फत पोर्चुगलको फुटबल गम्भिर रुपमा क्षतिग्रस्त भएको जनाएको छ ।