काठमाडौं । सहिद स्मारक लिग 'ए' डिभिजन २०७८ मा आइतबार एक मात्र खेल हुनेछ र त्यसमा तीन पल्टको विजेता पुलिसले जावलाखेलको सामना गर्नेछ । लिगमा पुलिसविरुद्ध जावलाखेलको प्रदर्शन कमजोर रहँदै आएको छ ।
यसपल्ट पुलिसले आफ्नो पहिलो खेलमा आर्मीसँग १–१ को बराबरी खेलेको थियो । पुलिसका लागि पहिलो जित निकाल्न जावलाखेल सजिलो प्रतिद्वन्द्वी हुनेछ । जावलाखेल भने आफ्नो पहिलो खेलमा मनाङ मस्र्याङदीसँग १–० ले पराजित भएको थियो ।
दुई टिमबीच माथिल्लो डिभिजनका खेलका पछिल्ला पाँच खेलमा पुलिस लगातार विजयी रहेको छ र ती खेलमध्ये अन्तिम चारमा पुलिसले क्लिन सिट पनि राखेको छ ।
पुलिसले जावलाखेललाई ०६९ मा १–०, ०७० मा ३–०, ०७५ मा १–० र २०७६ मा २–० ले हराएको थियो । पुलिस ०६८ मा भने २–१ ले विजयी रहेको थियो र त्यो नै जावलाखेलले पुलिसविरुद्ध गरेको अन्तिम गोल हो ।
समग्रमा लिगका पछिल्ला दुई खेलमा जावलाखेल पराजित रहेको छ । त्यसको ठीक विपरित पुलिस पछिल्ला दुई खेलमा लगातार विजयी रहेको छ ।
पुलिसले वर्ष ०७६ को लिगको आफ्नो अन्तिम खेलमा फ्रेन्ड्सलाई हराएको थियो । त्यही लिगको आफ्नो अन्तिम खेलमा जावलाखेल भने मनाङसँग पराजित रहेको थियो ।