इलाम । इलामको माङसेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगितामा घरेलु टोली माङसेबुङ गाउँपालिका खेलकुद समितिले विजयी सुरुआत गरेको छ ।
उद्घाटन खेलमा धरानको गोधुली फूटबल क्लबलाई ३–१ गोलको सहज जित निकाल्दै माङसेबुङले विजयी सुरुआत गरेको हो । खेलको १८ औं मिनेटमा नै माङसेबुङका प्रविण राईले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । २० औं मिनेटमा पुनः राईले नै गोल गर्दै अग्रता दोब्बर बनाए ।
घरेलु मैदानको समर्थन पाएको माङसेबुङले २४ औं निर्मल राईको गोलमा अग्रता ३–० बनायो । गोधुलीका तर्फबाट दोश्रो हाफमा विवस सुनुवारले सान्तवना गोल फर्काएका थिए ।
प्रतियोगितको उद्घाटन प्रदेश १ सामाजिक विकासमन्त्री जयराम यादवले गरेका थिए । माङसेबुङ–५ स्थित आत्मानन्द खेलमैदानमा संचालित प्रतियोगिता अन्तरगत आइतबार बिबिएफसी दकम झापा र रेडहर्ष इलाम बीच प्रतिष्पर्धा हुनेछ ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।
विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ठ स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदियमान खेलाडी, अनुशासित खेलाडी, उत्कृष्ट प्रशिक्षकलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछन् । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँण, कराते, व्याटमिन्टन लगायतका खेलहरु समेत सञ्चालन हुनेछन् ।
म्याराथनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ । म्याराथनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
धर्मगुरु लिङदेनको जन्मोत्सवमा बर्सेनि माङसेबुङमा आत्मानन्द गोल्डकप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।