काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विपक्षी टिमका खेलाडी थकित भएपछि गोल निकाल्न सफल भएको बताएका छन् ।
कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शनिबार हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
मनाङले लगातार दोस्रो जित निकालेको हो । जितपछि मुख्य प्रशिक्षक तामाङले हिमालयन शेर्पाले खासै दबाब नदिएको र उनीहरु थकित भएपछि गोल निस्किएको बताए ।
' हिमालयन शेर्पाले एक अंकका लागि खेल्दै थियो । त्यस्तो खासै दबाब दिएको थिएन । दोस्रो हाफमा हामीले एअर बल क्रस गर्ने खेलाडी पठायौ र सफल भयौं,' उनले भने, 'उनीहरुले डिप डिफेन्स खेल्दा स्कोर गर्न गाह्रो भयो । पछि उनीहरु थकित भएपछी हामी स्कोर गर्न सफल भयौं ।'
मनाङसँग पराजित भएपछि शेर्पाका मुख्य प्रशिक्षक युगल किशोर राईले स्कोरिङमा सुधार गर्नु पर्ने आवश्यकता रहेको बताए ।
'आजको खेल दुबै टिमलाई आफु बलियो देखाउनु थियो । हामीले आजको जस्तै लयलाई कायमै राख्यो भने बाँकी खेलमा राम्रो नतिजा ल्याउने छौँ,' उनले भने, 'हामीले सिस्टममा खेलिरहेका छौ । हाम्रो स्कोरिङ समस्या छ । त्यसलाई सुधार गर्नु पर्नेछ ।'