काठमाडौं । खेलकुद सामाग्री उत्पादक कम्पनी टी १० स्पोर्ट्सले सहिद स्मारक 'ए' डिभिजन क्लब सातदोबाटो युथ क्लबलाई प्रायोजन गरेको छ ।
नेपालका लागि आधिकारिक विक्रेता भाटभटेनी होल्डिङ कम्पनि प्रालि र सातदोबाटोबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
टी १० स्पोर्ट्सले 'किट्स पार्टनर' को रुपमा सातदोबाटोलाई प्रायोजन गरेको हो । टी १० स्पोर्ट्सले सातदोबाटोलाई तीन वर्षका लागि प्रायोजन गरेको हो ।
भाटभटेनीका प्रबन्ध निर्देशक पवन सर्राफ र सातदोबाटोका महासचिव सुनिल विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै सातदोबाटोले 'ए' डिभिजन लिगमा टी १० को जर्सी प्रयोग गर्नेछ ।
सम्झौतापछि बोल्दै भाटभटेनीका बिजिनेस हेड आलोक जोशीले ब्राण्डलाई लिगमा छिराउन पाउदा खुशी लागेको बताए ।
'टी १० को पहिलो प्रायोजन हो । लिगबाट ब्राण्डलाई छिराउन पाउँदा खुशी छौँ,' उनले भने, 'मुख्य उदेश्य खेलमा सहभागी हुने लक्ष्य हो । हामी सातदोबाटोको प्रगतिको कामना गर्छौं ।'
महासचिव विष्टले राम्रो ब्राण्डसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।
'हामी आफ्नो तर्फबाट शतप्रतिशत मेहेनत गर्नेछौँ । राम्रो ब्राण्डसँग सहकार्य भएको छ । यसमा निकै खुशी लागेको छ,' उनले भने ।
सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले ब्राण्डलाई चिनाउने हिसाबले खेल पस्कने बताए ।
'ब्राण्डको प्रवर्दनमा सहयोग गर्नेछौँ । ब्राण्ड जत्तिकै म्याच हुने हिसाबले खेल देखाउने छौँ,' प्रशिक्षक केसीले भने ।
नयाँ सिजनको 'ए' डिभिजन लिग शुक्रबारबाट सुरु हुँदैछ ।
लिगको उद्घाटनमा सातदोबाटोले शुक्रबार फ्रेन्ड्स क्लब कुपन्डोलसँग प्रतिस्पर्धा गर्नेछ।
सातदोबाटो यसै सिजन ए डिभिजनमा बढुवा भएको क्लब हो ।