काठमाडौं । एफई खुमलटार भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा फ्रेन्ड्स क्लबलाई ५-० गोल अन्तरले पराजित गर्दै खुमलटार अन्तिम चारमा पुगेको हो ।
खुमलटारको जितमा रितेश खड्काले दुई गोल गरे । भगवान थापा, निमा लामा र टासी छिरिङले एक एक गोल गरे ।
पाँचौं मिनेटमा रितेशले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
५१ औं मिनेटमा भगवानले गोल गर्दै खुमलटारलाई २-० को अग्रता दिलाए ।
निमाले ५५ औं मिनेटमा गोल गर्दा खुमलटारको अग्रता ३-० को बन्यो ।
खेलको ५७ औं मिनेटमा टासीले गोल गर्दै टिमको अग्रता ४-० को बनाए ।
त्यसपछि खेलको ६० औं मिनेटमा रितेशले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ५-० को जित दिलाए ।
यस अघि नेपाल आर्मी भेट्रान्स क्लबले सेमिफाइनलमा स्थान बनाईसकेको छ ।
पहिलो क्वाटरफाइनलमा भनिमण्डल भेट्रान्सलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।
आर्मीको जितमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरी महतोले एक एक गोल गरे ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।
त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।