काठमाडौं । स्पेनिस पूर्व मिडफिल्डर जाभी हर्नान्डेज बार्सिलोनाको मुख्य प्रशिक्षक बन्न सक्ने आंकलन गरिएको छ ।
बार्सिलोनाले प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेपछि बार्सिलोनाका पूर्व मिडफिल्डर जाभी सो स्थानमा आउने सम्भावना प्रवल रहेको स्पेनिस संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
बुधबार स्पेनिस ला लिगा अन्तर्गत रायो भालेकानोसँग १–० ले पराजित भएपछि बार्सिलोनाले ५८ वर्षीय कोम्यानलाई हटाएको थियो ।
बार्सिलोनाले बिहीबार भने सेर्जी बार्जुआनलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गर्यो ।
बार्सिलोनाले कोम्यानको प्रशिक्षणमा ला लिगा अन्तर्गत पछिल्ला सात मध्ये केवल दुई खेलमा मात्र जित हात पारेको थियो साथै गत आइतबार भएको खेलमा रियल म्याड्रिडसँग पराजित भएको थियो ।
खराब प्रदर्शनका कारण बार्सिलोना आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट नहुने सम्भावना पनि बढेको छ ।
कतारी क्लब अल–सादको मुख्य प्रशिक्षकको भूमिकामा रहेका जाभी भने कोम्यानको स्थानमा आउने तथा उनले क्लबमा गरेको प्रदर्शनका आधारमा उनी बार्सिलोनाका समर्थकहरुको लागि लोकप्रिय छनोट हुनेछन् ।
पेप गार्डिओलाको नेतृत्वमा बार्सिलोनाका लागि खेलेका ४१ वर्षीय जाभीले सोही आकर्षक खेल शैली क्लबमा भित्र्याउने विश्वास गरिएको छ ।
जाभी बाहेक युभेन्टसका पूर्व प्रशिक्षक एन्ड्रीया पिर्लो तथा वेल्जियमका वर्तमान मुख्य प्रशिक्षक रोवर्टो मार्टिनेज पनि कोम्यानको स्थानमा आउन सक्ने आंकलन गरिएको छ ।