काठमाडौं । इंग्लिस प्रिमियर फुटबल क्लब कार्डिफ सिटीका खेलाडी इमिलियानो साला र पाइलट डेभिड इबोत्तसोनको निधन हुने गरी भएको विमान दुर्घटनामा उडान आयोजक डेभिड हेन्डरसनलाई दोषी पाइएको छ ।
फ्रान्सदेखि वेल्स जानेक्रममा स्ट्राइकर साला र पाइलट इबोत्तसोन चढेको विमान सन् २०१९ जनवरी २१ तारिखमा इंग्लिस च्यानलमा दुर्घटना भएको थियो ।
सो दुर्घटनामा दुबै जनाको मृत्यु भएको बताइएको थियो ।
सालाको शव २०१९ फेब्रुअरी ६ मा फेला परेपनि इबोत्तसोनको शव र विमान भने अझै भेटिएको छैन ।
फ्रेन्च क्लब नान्टेसबाट कार्डिफका लागि सम्झौता गरेर साला वेल्सका लागि हिडेका थिए ।
तर विमानको सुरक्षालाई खतरामा पारेको आरोपमा कार्डिफ क्राउन कोर्टले हेन्डरसनलाई दोषी ठहर गरेको छ ।
कोर्टको सुनुवाइको क्रममा अमेरिकी विमान लिनका लागि विदेशी क्यारियर अनुमति आवश्यक परेपनि हेन्डरसनसँग उक्त अनुमति नभएको बताइएको थियो । उनीसँग विमान परिचालन प्रमाणपत्र पनि नभएको खुलासा भएको थियो ।
विमान सुरक्षालाई खतरामा पारेको आरोपमा हेन्डरसनलाई पाँच तथा अन्य आरोपमा थप दुई वर्षको जेल सजाय हुनेछ ।