काठमाडौं । नेपाल आर्मी भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा भनिमण्डल भेट्रान्सलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।
आर्मीको जितमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरी महतोले एक–एक गोल गरे ।
राजुले खेलको छैठौं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।
विकर्णले १६ औं मिनेटमा आर्मीको अग्रता दोब्बर बनाए ।

हरीले ४९ औं मिनेटमा गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलमा गोल हुन सकेन र आर्मीले सेमिफाइनलको यात्रा सुनिश्चित गर्यो।
आर्मीका हरी म्यान अफ द म्याच घोषित भए ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।
त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।