काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले डिफेन्डर छिरिङ गुरुङलाई अनुबन्ध गरेको छ ।
मछिन्द्रले बिहीबार डिफेन्डर छिरिङलाई अनुबन्ध गरिएको जनाएको छ ।
२३ वर्षीय डिफेन्डरले मछिन्द्रसँग एक वर्षको सम्झौता गरेका छन् ।
छिरिङले गत सिजनको लिग च्यासल युथ क्लबबाट खेलेका थिए ।
छिरिङले नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका छन् । नेपालले थ्री नेसन्स कपको उपाधि जित्दा उनी टिममा रहेका थिए ।
नेपालको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिगमा उनले च्याम्पियन टिम काठमाडौं रेजर्सबाट खेलेका थिए ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग नजिकिदै गर्दा मछिन्द्रले छिरिङलाई क्लबमा भित्र्याएको हो ।
यस सिजनको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।
मछिन्द्र गत सिजनको लिग विजेता क्लब हो ।
मछिन्द्रले बुधबार अजरबैजानका स्ट्राइकर नुर्लान जाहिद नोभ्रुजोभ र डिफेन्डर सादिक गुलिभलाई अनुबन्ध गरिएको जनाएको थियो ।
यस्तै मछिन्द्रले आइतबार स्ट्राइकर विमल घर्ति मगरलाई अनुबन्ध गरेको थियो ।
लिगका लागि मछिन्द्रले बिशाल राई, सुजल श्रेष्ठ, बिशाल श्रेष्ठ, मनिष डाँगी, शुनिल बल लगायतका राष्ट्रिय टिमका खेलाडीलाई समेत अनुबन्ध गरिसकेको छ ।