काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने पक्का भएको छ ।
प्रशिक्षक अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता नवीकरण गरेका छन्।
अलमुताइरीले एन्फासँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका हुन् । उनले सम्झौता एक वर्ष बाँकी रहदै नवीकरण गरेका हुन्।
प्रशिक्षक अलमुताइरीले सामाजिक संजालबाट आफुले सम्झौता नवीकरण गरेको बताएका छन् ।
'कर्मा छिरिङ शेर्पा (एन्फा अध्यक्ष) सँगको भेटपछि मैले नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु,' उनले लेखेका छन् ।
यस्तै अलमुताइरीले आफुले चाडै दुई वर्षको योजना र लक्ष्य सार्वजनिक गर्ने बताएका छन् ।
'हामी चाडै आगामी दुई वर्षको लक्ष्य र योजना सार्वजनिक गर्ने छौँ । नेपालको फुटबलको भविष्य राम्रो हुने तर आफूहरुलाई त्यसका लागि समय चाहिन्छ,' उनले लेखेका छन्, 'नेपाली समर्थकको माया मलाई मात्र नभएर खेलाडीहरुलाई पनि चाहिएको छ । हामीलाई सहयोग गर्नुहोस र हामीमा विश्वास गर्नुहोस ।'
कुवेती प्रशिक्षक अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्राएका थिए ।
माल्दिभ्समा दुई साता अघि सम्पन्न साफको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो । उपाधि जित्न नसकेपनि नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।
तर, फाइनल अघि प्रशिक्षक अलमुताइरीले फाइनल खेल नेपालको लागि आफ्नो अन्तिम खेल भएको बताएका थिए ।
अलमुताइरी माल्दिभ्सबाटै कुवेत फर्किएका थिए ।