काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने निश्चित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रशिक्षक अलमुताइरी नेपाल फर्कने पक्का भएको बताएका छन् ।
नेपाली काग्रेस तरुण विभागले आयोजना गरेको फुटबल खेलाडी सम्मान कार्यक्रम बोल्दै अध्यक्ष शेर्पाले अलमुताइरी नेपाल फर्किने बताएका हुन् ।
अध्यक्ष शेर्पाले अलमुताइरीसँग दुई वर्षको सम्झौता भएको बताए ।
यस अघि माल्दिभ्समा भएको साफ फुटबल प्रतियोगिताको फाइनल खेलपछि अलमुताइरीले आफू नेपाल नफर्किने बताएपछि एन्फाले उनलाई नेपाल फर्काउने प्रयास गरिरहेको थियो ।
अलमुताइरीले पहिलो पटक नेपाललाई साफको फाइनलमा पुर्याएका थिए ।
यता नव नियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बुधबार नै एन्फा अध्यक्ष शेर्पासँग अलमुताइरीलाई फर्काउने विषयमा चासो देखाएका थिए।