काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले अजरबैजानका दुई खेलाडीलाई अनुबन्ध गरेको छ ।
मछिन्द्रले बुधबार अजरबैजानका स्ट्राइकर नुर्लान जाहिद नोभ्रुजोभ र डिफेन्डर सादिक गुलिभलाई अनुबन्ध गरिएको जनाएको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि उनीहरुलाई अनुबन्ध गरिएको मछिन्द्रले जनाएको छ । दुबै खेलाडी बुधबार नेपाल आईपुगेको मछिन्द्रले जनाएको छ ।
२९ वर्षीय नुर्लानले यस अघि पनि नेपालमा खेलिसकेका छन् । उनले नेपालको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिगमा ललितपुर एफसीबाट खेलेका थिए । उनले ६ खेलमा २ गोल गरेका थिए ।
गुलिभ भने पहिलो पटक नेपाल खेल्न आएका हुन् । उनले पछिल्लो पटक क्वाबला एफसीबाट खेलेका थिए । उनले अजरबैजानको यू-२३ टोलीबाट खेलिसकेका छन् ।
शीर्ष डिभिजनको लिग नजिकदै गर्दा मछिन्द्रले खेलाडी अनुबन्धलाई तिब्रता दिएको छ । आइतबार मछिन्द्र स्ट्राइकर विमल घर्ति मगरलाई अनुबन्ध गरेको थियो ।
यस सिजनको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।
मछिन्द्र गत सिजनको लिग विजेता क्लब हो ।
मछिन्द्रले बिशाल राई, सुजल श्रेष्ठ, बिशाल श्रेष्ठ, मनिष डाँगी, शुनिल बल लगायतका राष्ट्रिय टिमका खेलाडीलाई नयाँ सिजनका लागि क्लबमा अनुबन्ध गरिसकेको छ ।