काठमाडौं । चेल्सी काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै चेल्सी अन्तिम आठमा पुगेको हो ।
निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा चेल्सी सफल भयो ।

पेनाल्टीमा चेल्सीका मार्कस अलन्सो, कलुम हड्सन, बेन चिलवेल र जेम्स रिसले गोल गरे । मासन माउन्टले गोल गर्न सकेनन् ।
साउथह्याम्पटनका एडम आर्म्सट्रङ, शेन लङ र ओरिओल रोमेउले गोल गरे । थियो वालकोट र स्मलबोनले गोल गर्न सकेनन् ।

पेनाल्टी अघि काइ हाभर्ट्जले ४४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ४७ औं मिनेटमा चे एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।