काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा भक्तपुर नगरपालिकालाई १२-० गोल अन्तरले हराउँदै बाँसगढीले सुखद सुरुआत गरेको हो।
बाँसगढीको जितमा अमिशा कार्की एक्लैले ७ गोल गरिन् ।
मनिका घर्ति मगरले २ तथा रेनुका हमाल, दुर्गा कुमारी चौधरी र तुलसी योगीले एक एक गोल गरिन् ।

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने छन् ।