फातीको मन बार्सिलोनामै

काठमाडौं । लियोनल मेस्सीले बार्सिलोना छाडेयता क्लबको ध्यान अहिले अन्सु फातीतिर छ । कम्तीमा बार्सिलोना चाहन्छन्, यी युवा खेलाडीले क्लब नछाडोस ।
त्यसैले बार्सिलोनाले फातीसँग नयाँ अनुबन्ध गर्न हतार जस्तै गरिहाल्यो । यिनै खेलाडी आफै पनि मान्छन्, उनको मनमा खालि बार्सिलोना मात्र छ ।
बार्सिलोना फातीलाई कतिसम्म क्लबमै राख्न चाहन्छन् भने दुई पक्षबीचको अनुबन्धमा रिलिज क्लज मात्रै एक बिलियन युरोको छ ।
फाती आफै पनि बार्सिलोनामा रहन पाएकामा खुसी छन् । उनले भनेका छन्, ‘मैले सुरुदेखि भनिरहेको थिएँ, बार्सिलोना नै मेरो लागि एक मात्र विकल्प हो, अरू कोही पनि होइन् ।’
उनले थपेका छन्, ‘मलाई अन्य क्लबले प्रस्ताव नराखेका पनि होइनन् । तर मेरो मनमा बार्सिलोना छ, त्यसैले मैले धेरै अन्य पक्षबारे सोच्दै सोचिन । म बार्सिलोनामै बस्न चाहन्छुं र यहीं सफल पनि हुन चाहन्छुं । मलाई बार्सिलोनाको माया छ, बार्सिलोनाले मलाई माया गर्छ, त्यसैले म शान्त छुं, यहीं रमाउन चाहन्छुं ।’
मेस्सीले छाडेयता टिमको प्रतिष्ठित १० नम्बर जर्सि पनि पाएका फाती अहिले आफू चोटबाट पूर्णत: निको भएको दाबी पनि गर्छन् । पछिल्लो समय उनलाई घुँडाको चोटले दु:ख दिइरहेको थियो ।
उनी मान्छन्, चोट अब समस्या रहेन् । खेलाडीका जीवनमा चोट त आउने जाने गरिरहन्छ, यो कुनै ठूलो मुद्दा पनि होइन् ।
–मार्काको सहयोगमा ।