काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबलमा केहि परिवर्तन र सकारात्मक बाटोमा हिडाएको बताएका छन् ।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पियानिपको उपविजेता बनेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै किरणले प्रशिक्षक अल्मुताइरीको प्रशंसा गरेका हुन् ।
कप्तान किरणले प्रशिक्षक अल्मुताइरी नेपाल फर्किएमा आफुहरु खुशी हुने समेत बताए ।
'प्रशिक्षकको रुपमा उहाँ राम्रो मान्छे हुनुहुन्छ । पक्कै पनि छोटो अवधिमा उहाँले नेपाली फुटबलमा केहि परिवर्तन र सकारात्मक बाटोमा लानु भएको छ,' किरणले भने, 'उहाँ आउनु भयो भने हामी खुशी हुनेछौ ।'
नेपाली टिम सोमबार स्वोदेश फर्किएका छन् । तर प्रशिक्षक अल्मुताइरी भने कुवेत लागेका छन् । प्रशिक्षक अल्मुताइरी केहि समय परिवारसँग बिताएर नेपाल फर्कने बताईएको छ ।
तर, प्रशिक्षक अल्मुताइरीले साफको फाइनल खेल नेपालको लागि आफ्नो अन्तिम खेल भएको बताएका थिए ।
'उहाँले विश्राम लिन चाहन्छु भन्दै हुनुहुन्थ्यो, सायद परिवारसँग विदा मनाउने योजनामा हुनुहुन्छ । प्रशिक्षकको हिसाबले उहाँ राम्रो हुनुहुन्छ, उहाँको नेपालमा रहने वा नरहने विषयमा उहाँ र एन्फाबीच हुने छलफलले तय गर्ने तथा यो कुरा उहाँहरुलाई नै थाहा होला,' कप्तान किरणले भने ।
एन्फाले उनलाई साफ च्याम्पियनसिपसम्मको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
प्रशिक्षक अल्मुताइरीको नेतृत्वमा नेपाल साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको थियो ।
मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।
फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । तर, नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।
कप्तान किरणले अल्मुताइरी सकारात्मक सोचको व्यक्ति भएको समेत बताए ।
'जहिले पनि सकारात्मक सोचको व्यक्ति, जहिले पनि खेलाडीहरुलाई मोटिभेट गर्ने, खेलाडीलाई जहिले पनि बलियो हुनुपर्छ र प्रतिद्धन्दी जस्तो भएपनि बलियोसंग खेल्नुपर्छ भन्ने खालको सकारात्मक व्यक्ति हुनुहुन्छ,' किरणले भने ।