काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले साफ च्याम्पियनसिपको फाइनल पुग्नु ठूलो उपलब्धि भएको बताएका छन् ।
माल्दिभ्समा सम्पन्न साफको उपविजेता बनेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै किरणले फाइनल पुग्नु उपलब्धि भएको बताएका हुन् ।
'सुरुआतबाटै गार्हो थियो । तर, हामीले यात्रा सुरु गर्यौं । २८ वर्षपछि फाइनल पुगेर इतिहास रच्यौं । तर, फाइनलमा हामी चुक्दा एउटा महत्वपूर्ण इतिहास गुमायौं,' कप्तान किरणले भने, 'हामी २८ वर्षपछि फाइनल पुग्नु पनि ठूलो उपलब्धि हो ।'
मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।
फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । तर, नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।
कप्तान किरणले प्रतियोगितामा टिमको प्रदर्शनबाट सन्तुष्ट भएको समेत बताए । ।
'फाइनल गुमाउदा कता कता दुख लागेको छ । नत्र, समग्रमा प्रतियोगिताको प्रदर्शनमा सन्तुष्ट छौँ,' उनले भने ।
कप्तान किरणले हारबाट धेरै कुरा सिकेको र यसले आगामी दिनमा राम्रो हुने बताए ।
'मानसिक रुपमा हामीले उनीहरु कडा लियौं जस्तो लाग्यो मलाई । किनकि हामीले पहिलो हाफमा राम्रो गरेका थियौं । दोस्रो हाफको पाँच मिनेटमा हामीले खेल गुमायौं,' किरणले फाइनलबारे भने, 'जसको कारणले हामी कति चिजमा कमजोर देखियौं तर यो खेलको पाटो हो । पराजयबाटै धेरै कुरा सिकिन्छ । यसले आगामी दिनमा हामी राम्रो गर्न सकिन्छ जस्तो लाग्छ ।'