काठमाडौं । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएका छन् ।
नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएका हुन् ।
नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले भव्य स्वागत गरे ।
यस्तै फुटबल समर्थकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।
फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । तर, नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो ।
लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । यस्तै भारतसँग पराजित भएको नेपालले बंगलादेशसँग बराबरी खेलेको थियो ।