काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको खेलमा नेपाल फिनिसिङमा चुकेको बताएका छन् ।
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको खेलमा १-० ले पराजित भएपछि प्रशिक्षक अल्मुताइरीले फिनिसिङमा अभागी भएको प्रतिक्रिया दिए ।
'हाम्रो राम्रो खेल खेलेको हो, बलियो खेल खेलेको हो । हामीले एक गल्ति गर्यौं । गोल खान पुग्यौं । हामी फिनिसिङ अभागी भयौं,' प्रशिक्षक अल्मुताइरीले भने ।
मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरेका थिए ।
भारतसँग पराजित भएपछि नेपाल दोस्रो स्थानमा झरेको छ । पहिलो हार व्यहोरेको नेपालले ३ खेलमा ६ अंक जोडेको छ ।
नेपाललाई अब फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध बुधबार प्रतिस्पर्धा गर्ने छ।
प्रशिक्षक अल्मुताइरीले बंगलादेशलाई हराएर फाइनल पुग्ने समेत बताए ।
'सबै कुरा ठिक छ । हामी अझै प्रतिस्पर्धामा छौँ । हामीलाई फाइनल पुग्न एक मौका छ । बंगलादेशविरुद्ध जितेर फाइनलमा छनोट हुन्छौं,' उनले भने ।
अब बंगलादेशविरुद्ध बराबरी वा जित निकालेमा नेपाल फाइनल पुग्नेछ।
बंगलादेशलाई भने नेपालविरुद्ध जितको बिकल्प छैन । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ ।
शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। श्रीलंका भने बाहिरिसकेको छ ।