काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) अन्तर्गत नेपालले आईतबार राति भारतसँग खेल्दैछ ।
प्रतियोगिताको सुरुवाती दुई खेलमा जित निकाल्दै ऐतिहासिक सुखद सुरुवात गरेको नेपाल भारतलाई हराउदै फाईनल पुग्ने अवसर छ ।
प्रतियोगिताको तेस्रो खेलमा भारतलाई हराएमा नेपाल एक खेल अगावै फाईनल पुग्नेछ ।
नेपाल लिग तालिकाको शीर्ष स्थानमा छ । नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । समान अंक भएपनि माल्दिभ्स दोस्रो स्थानमा छ । बंगलादेश ४ अंक सहित तेस्रो, भारत २ अंक सहित चौथो र श्रीलंका १ अंक सहित पाँचौ स्थानमा छ ।
नेपाललाई फाईनल पुग्न ३ अंक पर्याप्त छ । भारत बाहेक नेपालले अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ भने भारतले माल्दिभ्ससँग खेल्नेछ ।
प्रतियोगिताको फाईनल पुग्न भारतलाई नेपालविरुद्ध जितको विकल्प छैन । नेपालसँग हारेको खण्डमा फाईनल खेल्ने भारतको गणितिय सम्भावना मात्र बाँकी रहनेछ ।
सोही कारण भारत ‘गर वा मर’को अवस्थामा छ भने नेपाललाई भारत हराउँदै फाईनल पुग्ने अवसर छ ।
आईतबारको पहिलो खेलमा श्रीलंकालाई हराएसँगै आयोजक तथा साविक विजेता माल्दिभ्सले फाईनल पुग्ने सम्भावना बलियो बनाएको छ । उसले अन्तिम खेलमा भारतलाई हराएको खण्डमा समेत प्रतियोगिताको फाईनल पुग्न सक्छ ।
श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ भने बंग्लादेशको फाईनल पुग्ने गणितिय सम्भावना मात्र बाँकी छ ।
भारतलाई फाईनल पुग्न नेपाललाई हराएर मात्र पुग्ने छैन अन्तिम खेलमा माल्दिभ्सलाई समेत पराजित गर्नुपर्नेछ ।
भारतसँग अंक गुमाएको अवस्थामा बंगलादेशलाई हराउँदै फाईनल पुग्ने नेपालको सम्भावना बाँकीनै रहनेछ । सुरुवाती दुई खेलमा श्रीलंका र माल्दिभ्सलाई हराएर ६ अंक बटुलेको फाईदा नेपालसँग छ ।