आरसी-३२ 'सी' डिभिजनमा बढुवा

काठमाडौं । सुर्खेतको आरसी-३२ फुटबल एकेडेमी सहिद स्मारक 'सी' डिभिजन लिगमा बढुवा भएको छ ।
'सी' डिभिजन लिग छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा आइतबार झापाको समाजसेवी क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै आरसी-३२ 'सी' लिगमा बढुवा भएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा आरसी-३२ भाग्यमानी रह्यो ।
पेनाल्टीमा आरसी-३२ का युकेश तामाङ,सनम लिम्बु,बबिन बोहरा,विवेक सन्तोषी र बिदुर रुअलले गोल गरे ।
पेनाल्टीमा समाजसेवीका मान बहादुर आले, सुमन लिम्बु र टेकेन्द्र राना मगरले गोल गरे । समाजसेवीका रोजिन कार्कीको प्रहार आरसी-३२ का गोलकिपर मुकेश घर्ति मगरले बचाए ।
पेनाल्टी अघि १२ औं मिनेटमा बबिन बोहराले गोल गर्दै आरसी-३२ लाई अग्रता दिलाएका थिए ।
खेलको १९ औं मिनेटमा खगेन्द्र बयलकोटीले गोल गर्दै समाजसेवीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको २९ औं मिनेटमा विवेक सन्तोषीले गोल गर्दै आरसी-३२ लाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ५० औं मिनेटमा हरि बहादुर आले मगरले गोल गर्दै समाजसेवीलाई २-२ गोलको बराबरीमा फर्काएका थिए ।
अब दुई टोली बढुवा हुन बाँकी रहेको छ ।
छनोट प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
'सी' छनोटबाट तीन टिम 'सी' डिभिजनमा बढुवा हुनेछन् ।