काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको खेलका लागि राम्रो तयारी गरेको बताएका छन् ।
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको खेल अघि कप्तान किरणले बलियो टिमलाई हराउँन तयारी राम्रो गरेको बताएका हुन् ।
'हामीले भोलिको खेलका राम्रो तयारी गरेका छौँ । प्रशिक्षकले भने जस्तै भोलिको खेल कठिन छ । हामी चरणबद्ध अघि बढी रहेका छौँ । हामीले दुई चरण पार गरिसकेका छौँ,' कप्तान किरणले प्रि-म्याच कन्फरेन्समा भने, 'लक्ष्य पूरा गर्नका लागि भोलि अर्को चरण रहेको छ । हामी जित्नका लागि ९० मिनेटसम्म प्रतिस्पर्धा गर्छौं ।'
मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले भोलि आइतबार बलियो टिम भारतको सामाना गर्नेछ । नेपाल र भारतबीचको नेपाली समय अनुसार खेल राति ९:४५ बजे सुरु हुनेछ ।
कप्तान किरणले साफ जित्ने सपना साकार बनाउन नेपालको लागि भारतविरुद्धको खेल महत्वपूर्ण रहेको समेत बताए ।
'सपना देख्नु पर्छ । सपना देखेपछि नै लक्ष्यमा पुगिने हो । मेरो मात्र हैन सारा नेपाली र फुटबल फ्यानको सपना हो । सपनालाई पूरा गर्न हामी हरेक दिन फाइट गरिरहेका छौँ,' किरणले भने, 'भोलिको खेल हाम्रो लागि एकदमै महत्वपूर्ण छ । त्यो सपना पूरा गर्नका लागि । हामी त्यो सपना सकार गर्नका लागि सक्दो प्रयास गर्ने छौँ ।'
कप्तान किरणले साफमा नेपाली टिम अन्डर डग टिम रहेको समेत बताए ।
'प्रशिक्षकले उनीहरु साफ क्षेत्रमा बलियो टिम रहेको बताएका छन् । तर, यसको मतलब यो हैन की हामी राम्रो टिम हैनौं । हामी यस प्रतियोगिताको अन्डर डग टिम हौँ । हामी हरेक खेलमा प्रतिस्पर्धा गर्छौं,' उनले थपे ।
जारी प्रतियोगितामा नेपालले अघिल्लो दुई खेलमा शतप्रतिशत जित निकालेको थियो । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ ।
भारत २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । भारतलाई भने फाइनल पुग्न अबको बाँकी दुई खेल जित्नै पर्ने दबाब रहेको छ । पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।