काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको खेल नेपाललाई कठिन हुने बताएका छन् ।
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको खेलअघि बोल्दै प्रशिक्षक अल्मुताइरीले नेपालका लागि यस खेल कठिन हुने बताएका हुन् ।
मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले भोलि आइतबार बलियो टिम भारतको सामाना गर्नेछ । नेपाल र भारतबीचको नेपाली समय अनुसार खेल राति ९:४५ बजे सुरु हुनेछ ।
'भारतविरुद्धको भोलिको खेल हाम्रो लागि कठिन हुनेछ । भारत यस क्षेत्रको उत्कृष्ट टिम हो । उनीहरु ७ पटकको च्याम्पियन हुन्,' प्रशिक्षक अल्मुताइरीले प्रि-म्याच कन्फरेन्समा भने ।
अल्मुताइरीले भारतलाई हराउने नेपालको सम्भावना मात्र एक प्रतिशत भएको समेत बताए ।
'मेरो विचारमा भारतले ९५ प्रतिशतले खेल जित्ने सम्भावना छ । ४ प्रतिशत बराबरी र १ प्रतिशत नेपालले जित्ने सम्भावना छ,' उनले भने, 'मलाई आशा छ हामी भारतसँग हार्ने छैनौँ ।'
साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो ।
पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।
नेपालले भने लगातार दुई खेल जितेको थियो । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो ।
नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ । भारतलाई भने फाइनल पुग्न अबको बाँकी दुई खेल जित्नै पर्ने दबाब रहेको छ ।