काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले सोमबार राति लगातार दोस्रो जित निकाल्यो ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा श्रीलंकामाथि ३-२ गोलको जित निकाल्दै नेपालले अपराजित यात्रा कायम राखेको हो ।
श्रीलंकाविरुद्धको खेलमा उत्कृष्ट जितपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी निकै खुशी देखिए।
उनले साफ जस्तो ठूलो खेलमा ३ अंक प्राप्त गर्नु महत्वपूर्ण भएको बताए । उनले खेलाडीले कस्तो खेल्यो भन्दा पनि नतिजामा आफुले मतलब राख्ने समेत बताए ।
'तीन अंक जोड्न सफल भएको म निकै खुशी छु । म अंक चाहन्छु । प्रतियोगितामा प्रदर्शन मतलब हुँदैन । हामी अंकलाई मतलब गर्छौं,' अल्मुताइरीले भने, 'यदि मैत्रीपूर्ण खेल हो भने, प्रदर्शन महत्त्वपूर्ण हुन्छ । किनकि त्यसले प्रतियोगितामा खेल खेल्न सहयोग गर्छ ।'
लगातार दुई जितपछि नेपालले ६ अंक जोडेको छ। शीर्ष स्थानमा उक्लिएको नेपाल फाइनल नजिक समेत पुगेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो ।
प्रशिक्षक अल्मुताइरीले आगामी खेलमा समेत अंककै लागि खेल्ने बताए ।
'सायद मानिसलाई आजको र माल्दिभ्सविरुद्धको खेल मन परेन होला । तर, म किन दुखी हुने ? मैले ६ मा ६ अंक पाएको छु,' उनले भने, 'अर्को खेल भारतसँग छ । भारतले ९८ प्रतिशत नै बल पोसेसन राख्छ र हामी १-० गोलले जित्छौं भने म खुशी हुनेछु ।'
अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।
यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।