काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोड्ने लक्ष्य रहेको बताएका छन् ।
साफ च्याम्पियनसिपका लागि माल्दिभ्समा रहेका अन्जनले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोड्ने लक्ष्य रहेको बताएका हुन् ।
नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान हरि खड्का र निराजन राइमाझीको नाममा रहेको छ । दुबैले १३/१३ गोल गरेका छन् ।
'अहिलेसम्म १३ गोलमा अड्किरहेको छ । मुख्य कुरा नेपालमा स्ट्राइकरले मात्र गोल हान्नु पर्छ भन्नेछ । तर, स्ट्राइकरले मात्र हैन सबैले गोल हाल्छ । अहिले मिडफिल्डरले गोल हानेको छ,' अन्जनले श्रीलंकाविरुद्धको खेलपछि भने, 'मेरो चाहना पनि त्यो रेकर्ड तोड्ने इच्छा छ । त्यसका लागि म अझै मेहेनत गर्नेछु ।'
साफमा नेपालले सोमबार राति श्रीलंकालाई ३-२ ले हराएको थियो । जुन नेपालको लगातार दोस्रो जित हो । नेपाल ६ अंक जोडेर शीर्ष स्थानमा समेत उक्लिएको छ ।
नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । अन्जन खेलको म्यान अफ दि म्याच समेत चुनिए ।
श्रीलंकाविरुद्धको खेलमा गोल गरेसँगै अन्जनले नेपालका लागि ६ गोल समेत पूरा गरे । हरि र निराजनको कीर्तिमान भेट्न अन्जनलाई अझै ७ गोलको खाचो रहेको छ ।

यस्तै अन्जनले प्रशिक्षक र समर्थकलाई धन्यवाद दिए ।
'मलाई विश्वास गर्नु भएकोमा प्रशिक्षकलाई धन्यवाद । सबै नेपाली समर्थकहरुलाई समेत धेरै धन्यवाद । यो हाम्रो अन्तिम हैन । हामी जितका लागि लड्ने छौँ,' अन्जनले थपे ।
अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।
यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।