काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज सोमबार श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले आज श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
तर, बलियो टिम श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुनेछैन । श्रीलंका भने पहिलो जित निकाल्ने योजनामा रहेको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको ।
हेड टु हेड कस्तो ?
इतिहास हेर्दा श्रीलंकाविरुद्ध नेपाल कमजोर देखिन्छ । नेपाल र श्रीलंकाबीच हालसम्म १७ खेल भएको छ ।
अघिल्ला १७ भेटमा नेपालले मात्र ३ जित निकाल्न सफल भएको छ । श्रीलंकाले ६ खेल जितेको छ ।
नेपाल र श्रीलंकाबीचको ८ खेल बराबरीमा सकिएको छ ।
नेपालले पहिलो पटक श्रीलंकासँग १९८४ मा खेलेको थियो । जुन खेलमा नेपाल ४-० ले पराजित भएको थियो ।
श्रीलंकाविरुद्ध नेपालले पहिलो पटक १९९९ को साफमा ३-२ को जित निकालेको थियो ।
नेपालले पछिल्लो पटक श्रीलंकासँग २०१६ मा बंगलादेशको ढाकामा मैत्रीपूर्ण खेल खेलेको थियो । जुन खेलमा नेपालले १-० को जित निकालेको थियो ।