काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज सोमबार दोस्रो खेल खेल्दैछ ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले आज श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् ।
'श्रीलंकाविरुद्ध हामीले तीन अंकका लागि खेल्नेछौ । माल्दिभ्सविरुद्धको खेल अघि पनि भनेको थिए हामी गोर्खाली हौँ । हामीले ९० मिनेटसम्मै जितका लागि फाईट गर्नेछौ,' कप्तान किरणले भनेका छन् ।

तर, बलियो टिम श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुनेछैन ।
'श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ । सजिलो हुनेछैन । हामीले श्रीलंकाविरुद्ध कम्तिमा एक अंक बटुल्ने अपेक्षा लिएका छौ,' मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने, 'मलाई थाहा छ श्रीलंकाका खेलाडीहरु ट्याकलमा आक्रामक छन् । तर, उनीहरुको आक्रामक खेलको फाइदा उठाउने छौ ।'
नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए । नेपाल तीन अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
श्रीलंका पनि भने पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
श्रीलंका पहिलो खेलमा पराजित भएको थियो । श्रीलंकाले बंगलादेशलाई खेल १-० ले सुम्पिएको थियो ।
साफ अन्तर्गत नै सोमबार हुने पहिलो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। भारत र बंगलादेशबीचको खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।