काठमाडौं । १५ वर्षीया साराका लागि आफ्नो जन्मभूमि अफगानिस्तान छाड्नु निकै नै पीडादायी थियो ।
तर, उनी अहिले पोर्चुगलमा सुरक्षित छिन् र व्यावसायीक फुटबल खेल्ने सपना साकार पार्नेमा आशावादी छिन् ।
साथै आफ्ना आदर्श स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई भेट्ने इच्छा पूरा हुनेमा विश्वस्त छिन् ।
सारा अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका खेलाडी मध्ये एक हुन्, जो अगस्टमा तालिवान कट्टरपन्थीले सत्ता कब्जा गरेपछि डरले देश छाडिन् ।
पोर्चुगलले यी खेलाडीहरुलाई शरण दिएको छ ।
साराले आफू स्वतन्त्र भएको तथा रोनाल्डो जस्तै राम्रो खेलाडी बन्ने आफ्नो सपना रहेको बताइन् । उनी एक ठूला व्यवसायी समेत बन्न चाहन्छिन् ।
'म स्वतन्त्र छु । मेरो सपना रोनाल्डो जस्तै राम्रो खेलाडी बन्ने छ । र, म पोर्चुगलमा ठुलो व्यवसायी बन्न चाहन्छु,' उनी भन्छिन ।
उनी अफगानिस्तान त जान चाहन्छिन तर स्वतन्त्रतापूर्वक बस्न पाउने भएपछि मात्र ।

तालिबान नेताहरुले महिला अधिकारको सम्मान गर्ने वाचा गरेपनि एक वरिष्ठ तालिबान अधिकारीले महिलाहरुको शरीर उजागर हुने हुनाले उनीहरुलाई खेल खेल्नका लागि अनुमति नदिइने बताएका छन् ।
युवा खेलाडीहरुलाई आश्चर्यचकित पार्न पोर्चुगल पुगेकी अफगानिस्तान (क्यानडामा घर भएको) महिला फुटबल टिम कप्तान फरखुण्डा मुहताजले खेलाडीहरुलाई उद्धार गर्नुको उदेश्य भनेको उनीहरुले आफूलाई मनपर्ने खेल खेल्न सकोस भन्ने हो ।
क्यानडाको एक स्थानीय विश्वविद्यालयमा फुटबल प्रशिक्षकको रुपमा काम गरिरहेकी मुहताज उद्धारको क्रममा महिला खेलाडीको सम्पर्कमा रहेकी थिईन् ।
उद्धार कार्यको नाम थियो अपरेसन सकर बल्स । सो टोलीले महिला युवा खेलाडीसंगै परिवारका सदस्य तथा बालबालिकासहित ८० जनाको उद्धार गरेको थियो । उनीहरु सेप्टेम्बर १९ मा पोर्चुगल पुगे ।
बुधबार राति जब ती किशोरी खेलाडीहरुले मुहताजलाई देखेर उत्साहित भए, उनीहरुले अंगालो हाले र कतिपयले आशु थाम्न सकेनन् ।

-रोयटर्सको सहयोगमा