काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो मैत्रीपूर्ण खेलको नतिजालाई बिर्सन आग्रह गरेका छन् ।
उनले राष्ट्रिय टिमले भारतविरुद्ध उत्कृष्ट प्रर्दशन गरेको भन्दै नतिजालाई बिर्सन आग्रह गरेका हुन् ।
‘खेल मन पर्यो ?’ उनले प्रश्न गरे, ‘त्यसो भए नतिजालाई बर्सिदेउ ।’
अलमुताइरीले भारतविरुद्ध नेपालले राम्रो खेल प्रर्दशन गरेको उल्लेख गर्दै नतिजालाई सामान्य रुपमा लिन आग्रह गरे ।
‘म खुसी छु । खेलाडीको प्रर्दशनमा गर्व गर्छु । सबै चिज ठिक छ ।’ उनले भने ।
उनले भारतविरुद्धको नतिजाबाट नआत्तिन अनुरोध गरे ।
‘नतिजा खराब आएपनि प्रर्दशनबाट म धेरै खुसी छु । मसंग २४ जना गोर्खाली खेलाडी छन् । आशा गरौं हामी साफ जित्नेछौं ।’ उनले भने ।
भारतीय प्रशिक्षक इगोर स्टिम्याकले दोस्रो मैत्रीपूर्ण खेलमा दुवै टिमले राम्रो खेलेको बताए ।
‘धेरै राम्रो खेल भयो । दुवै टिमले राम्रो खेले । अघिल्लो खेलभन्दा दुवै टिमको प्रर्दशन सुधारिएको थियो ।’ उनले भने, ‘दुवै टिमका खेलाडीलाई धन्यवाद दिन आवश्यक छ ।’
स्टिम्याकले तुलनात्मक रुपमा भारत धेरै राम्रो टिम रहेको बताउँदै आफ्नो खेलाडीलाई विशेष धन्यवाद दिए ।