काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बंगलादेशसँग दुई खेल खेल्ने पक्का भएको जनाएको छ ।
नेपालले बंगलादेशी टोलीसँग सेप्टेम्बर ९ र १२ (भदौ २४-२७) गते दशरथ रंगशालामा खेल्नेछ ।
बंगलादेशी टिम सेप्टेम्बर ६ मा नेपाल आईपुग्ने छन् ।
एन्फाले उक्त खेलको टिकट मूल्य सामान्यतर्फ २ सय र भीआईपीमा ५ सय राखिएको जनाएको छ ।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप-२०२२ छनोट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेको छ ।

छनोटमा नेपाल समूह 'एफ' मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।
छनोट खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।
नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।
नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ ।
यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।
एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।
नेपाली टिम :
अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना, हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंह