काठमाडौं । नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण फुटबल खेलको 'किक अफ' समय तय भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र भारतबीचको दुबै खेल अपरान्ह ५:३० मा सुरु हुने जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र भारतबीचको खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ।
मैत्रीपूर्ण खेलमा दर्शक प्रवेशबारे भने केहि निर्णय भएको छैन।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले दर्शक राख्नेबारे प्रशासनसँग छलफल भईरहेको बताए।
महासचिवले मंगलबारसम्म दर्शक प्रवेशबारे तय हुने बताए।
खेलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनबाट हुनेछ।
नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम आज सोमबार नेपाल आईपुग्ने छन्।
मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।
भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा हो ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।