एसिया कप जितेको भारतले पाएन ट्रफी !

काठमाडौं। रोमाञ्चक खेलमा पाकिस्तानलाई पराजित गर्दै भारतले पुनः एसिया कपको उपाधि जितेको छ। यो भारतको नवौं एसिया कप उपाधि हो। तर, फाइनल जितेपछि हुने ट्रफी हस्तान्तरण समारोहमा भने ठूलो विवाद उत्पन्न भयो।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी लिन भारतीय टोलीले अस्वीकार गरेपछि परिस्थिती तातेको थियो। यस कारण भारतले उपाधि जिते पनि ट्रफी नलिई मैदान छाड्यो।
एसिया कप सुरु हुनु अघि नै भारत–पाकिस्तान खेललाई लिएर विवाद र जटिलता बढेको थियो। भारतले पाकिस्तानविरुद्ध खेल्नै नचाहेको भनाइसमेत आएको थियो। तर, अन्ततः दुवै टिम प्रतियोगितामा तीन पटक आमनेसामने भए र तीनै खेलमा सूर्यकुमार यादव नेतृत्वको भारतीय टोलीले जित निकाल्यो।
फाइनलपछि पुरस्कार वितरण ढिला हुनुको मुख्य कारण यही विवाद थियो। भारतले नकवीको हातबाट ट्रफी लिन नमानेपछि पाकिस्तानका खेलाडीहरू पनि केही समय मैदान छाडेर ड्रेसिङ रुमतर्फ फर्केका थिए।
केहीबेरमा उनीहरू फर्किए पनि नकवीले कुनै पुरस्कार खेलाडीलाई हस्तान्तरण गरेनन्। त्यसको जिम्मेवारी बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष अमिनुल इस्लाम बुलबुले सम्हाले। नकवी भने स्टेजमा उपस्थित मात्र रहे।
अन्ततः व्यक्तिगत पुरस्कारहरू प्रदान गरिए पनि एसिया कपको मुख्य ट्रफी भारतीय टोलीको हातमा पुगेन। ट्रफी नलिई नै भारतका खेलाडीहरूले मैदान छाडेका थिए।