बीसीसीआईको नयाँ अध्यक्ष मिथुन

काठमाडौं। बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)को नयाँ अध्यक्षमा पूर्व घरेलु खेलाडी तथा प्रशासक मिथुन मनहास सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
मनहास बीसीसीआईको अध्यक्षको एक मात्र उम्मेदवार थिए। मुम्बईमा सम्पन्न बीसीसीआईको वार्षिक साधारण सभापछि उनलाई नियुक्त गरिएको हो।
बीसीसीआईले जारी गरेको विज्ञप्तिअनुसार राजीव शुक्ला उपाध्यक्षमा निर्वाचित भएका छन् भने देवजित साइकिया सचिवमा रहनेछन्। ४५ वर्षीय मनहासले भारतको राष्ट्रिय टोलीमा कहिल्यै खेलेका थिएनन्। तर, आफ्नो प्रथम श्रेणी खेल जीवनको समाप्ति पछि क्रिकेट प्रशासनतर्फ लागेका थिए।
उनले भारतका पूर्व विश्वकप विजेता रोजर बिनीको स्थान लिएका छन्। उनले अनिवार्य अवकासको उमेर ७० वर्ष पुगेपछि अगस्टमा पदबाट राजीनामा दिएका थिए।
भारतमा क्रिकेटको विशाल लोकप्रियताले बीसीसीआईलाई क्रिकेट बोर्डमध्ये सबैभन्दा धनी बनाएको छ, जसले प्रायोजन र टिभी सम्झौताबाट ठूलो आम्दानी गर्छ।