काठमाडौं । आइतबार राति सबैको नजर फ्रान्सेली लिग वानमा थियो ।
अवसर थियो, रेइम्सविरुद्ध पेरिस सेन्ट जर्मेन (पीएसजी) को खेल । सबैले सुनिसकेका थिए, यो खेलमा लियोनल मेस्सीले खेल्दैछन् भनेर ।
रेइम्सको घरेलु मैदानका दर्शकदीर्घा भरिभराउ थियो । त्यो रंगशाला धेरै ठूलो थिएन्, दर्शक क्षमता २१ हजार भन्दा केही बढी मात्र थियो ।
तर जतिले मेस्सीको डेब्यु देख्न पाए, ती सबैले आफूलाई भाग्यमानी माने । खासमा ती २१ हजार दर्शकमध्ये अधिकांस रेइम्सकै समर्थक थिए, तर तिनीहरू आएका थिए, मेस्सीलाई हेर्न ।
मेस्सीलाई समर्थन गर्न । मेस्सीको नाम लिएर नारा लगाउन ।
अब फ्रान्समा ‘मेस्सी मेनिया’ सुरु भएको छ, फ्रान्सेली लिग फुटबल अब मेस्सीको प्रभावमा छोपिनेछ ।

यी अर्जेन्टिनी जादुयी खेलाडी ६६ औं मिनेटमा मैदानमा प्रवेश गर्दा को समर्थक को विरोधी सबैमा अपार खुसीयाली छाएको थियो । यस्ता छन्, मेस्सी ।
आखिरमा मेस्सी पनि त मानिस नै हुन् । आफ्नै साथी खेलाडी नेयमारको स्थानमा मैदानमा प्रवेश गर्दा उनी केही आत्तिएका देखिन्थे । त्यो भनेको उनी ‘नर्भस’ देखिन्थे ।
त्यसैले त मेस्सी जत्तिको खेलाडीले पनि ओठ टोकिरहेका थिए । खेलमा जित अपेक्षा अनुसार पीएसजीकै रह्यो । संयोग कस्तो भने २–० को जितमा गोल गर्ने खेलाडी अरू कोही नभएर केयलिन एमबापे थिए ।
एमबापे तिनै खेलाडी हुन्, जसले मेस्सी आएपछि आफूलाई असुरक्षित मानेका छन् र त्यसै कारण उनी पीएसजी छाडेर अन्यत्र जान चाहन्छन् ।

सम्भवत: रियल मड्रिड हुनेछ उनको नयाँ गन्तब्य ।
मेस्सी आएपछि अब एमबापे गएमा त्यसलाई धेरैले सम्झने छैनन् । र, मेस्सी आउनु भनेको समग्रमा फ्रान्सेली फुटबलकै लागि ठूलो उपलब्धी हो ।
इंग्ल्यान्ड, स्पेन र इटालीले मात्र होइन्, जर्मनले समेत फ्रान्सेली फुटबललाई हेप्ने गर्छ र नानाथरी उपमा दिएर ठट्टा गर्ने गर्छ ।
र, भन्ने गर्छ, फ्रान्सेली लिग वान भनेको त ‘फारमर्स लिग’ हो अर्थात कृषकको लिग ।
एक प्रकारले भन्दा कृषि पेसा गर्नेले फुर्सदमा खेल्ने लिग । अब यही लिगले भन्न सक्नेछ, विश्व फुटबलका सर्वकालीन महान खेलाडी यसैमा खेल्ने गर्छ ।
फ्रान्सेली फुटबलमा अब जे हुन्छ, सायद राम्रो मात्र हुन्छ ।

–डेलीमेलको सहयोगमा ।