काठमाडौं । नेपाली राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईले मछिन्द्र क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
मछिन्द्रले बिहीबार सामाजिक सञ्जालमार्फत विशालले सम्झौता नवीकरण गरेको जनाएको छ ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि विशालको सम्झौता थप गरेको हो ।
नयाँ सिजनको ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।
मछिन्द्र पछिल्लो संस्करणको 'ए' डिभिजनको च्याम्पियन टोली हो ।
मछिन्द्रले पहिलो पटक शीर्ष डिभिजनको लिग जित्दा विशाल टिमका मुख्य खेलाडी रहेका थिए ।
अघिल्लो सिजनको लिगमा विशाल उत्कृष्ट मिडफिल्डर घोषित भएका थिए ।

विशालले नेपाल सुपर लिग धनगढी एफसीबाट खेलेका थिए ।
यस अघि मछिन्द्रले डिफेन्डर देवेन्द्र तामाङ, रञ्जित धिमाल, गोलकिपर विशाल श्रेष्ठ, फरवार्ड रेजिन सुब्बा, मिडफिल्डर सुजल श्रेष्ठ र अभिषेक रिजालसँगको सम्झौता नवीकरण गरेको थियो ।
त्यस्तै मनिष डाँगीलाई अनुबन्ध गरेको छ ।