काठमाडौं । विश्व फुटबलका सबैभन्दा उम्दा प्रशिक्षकमध्ये एक हुन्, पेप ग्वार्डिओला । उनले भविष्यमा के गर्नेछन् भनेर प्राय: विभिन्न अड्कल काट्ने गरिन्छ । प्रश्न गर्ने गरिन्छ, अबको उनको बाटो के हुनेछ ? बार्सिलोना र बायर्न म्युनिखको टिम सम्हालेयता अहिले म्यानचेस्टर सिटीमा रहेका ग्वार्डिओलाले सबैभन्दा पहिला त्यसको उत्तर दिने प्रयास गरेका छन् ।
हालै आयोजना भएको अनलाइन कार्यक्रममा उनले भनेका छन्, ‘जति बेला सिटीसँगको अनुबन्ध सकिनेछ, मेरो उद्देश्य राष्ट्रिय टिम सम्हाल्ने हुनेछ ।’ अब यो राष्ट्रिय टिम कुन हुनेछ, त्यसबारे ५० वर्षीय प्रशिक्षकले ठ्याक्कै यस्तै हो भनेर भनेका छैनन् । सन् २०२३ मा भने उनको सिटीसँगको अनुबन्ध सकिनेछ ।
उनको तर्क थियो, लगातार क्लब फुटबल हेरिरहेका प्रशिक्षकका लागि राष्ट्रिय टिमको जिम्मेवारीले नयाँ चुनौती दिनेछ र काम गर्न अझ बढी प्रेरित गर्नेछ । उनले खालि के सम्म संकेत गरेका छन् भने उनको रोजाईमा दक्षिण अमेरिकी टिम हुनेछ र उनी कोपा अमेरिकाको अनुभव पनि बटुल्न चाहन्छन् । सायद ब्राजिल ?
कार्यक्रमको केन्द्र ब्राजिलको रियो डे जेनेरियो नै थियो, त्यसैले अनुमान के पनि छ भने कुनै टिम ग्वार्डिओलाले ब्राजिली टिम सम्हाल्न सक्नेछन् । उनले खालि यति भने स्पष्ट भने, ‘पक्कै पनि मेरो अबको लक्ष्य राष्ट्रिय टिम सम्हाल्ने नै हुनेछ ।’ बार्सिलोनाका पूर्व खेलाडी समेत रहेको ग्वार्डिओलाले सिटीका लागि तीन इंग्लिस प्रिमियर लिग उपाधि जितिसकेका छन् ।
गत सिजन सिटी च्याम्पियन्स लिगको फाइनलमा पराजित भएको थियो । त्यस अगाडि उनले यही उपाधि बार्सिलोनाका लागि भने जितिसकेका छन् । त्यसक्रममा बार्सिलोनाले तीन ला लिगा उपाधि पनि चुमेको थियो । यस्तै उनले बायर्नका लागि बुंडेसलिगा पनि जितेका छन् । खेलाडीका रूपमा पनि उनले धेरै उपाधि जिते, तर राष्ट्रिय टिमका लागि केही पनि जितेका छैन् ।
–एएफपीको सहयोगमा ।