काठमाडौं । नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेलको प्रशारण अधिकार एडप्याडले पाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एडप्याडसँग प्रशारण अधिकारको सम्झौता गरेको छ ।
एन्फाका महासचिब इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरिले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै मैत्रीपूर्ण खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
एडप्याडले २५ लाख १० हजारमा प्रशारण अधिकार किनेको हो ।
सम्झौतापछि बोल्दै एडप्याडका गिरिले सम्झौता रकम बजारका लागि सानाे रकम भएको र हालेकाे पैसा सामान्य रहेको बताए ।
नेपालले साफ च्याम्पियनसिपको तयारीका लागि भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ ।
नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ ।
नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ ।
साफ च्याम्पियनसिप आगामी अक्टोबरमा माल्दिभ्समा हुनेछ ।