काठमाडौं । रियल मड्रिडले भर्खरै केलियन एमबाप्पेका लागि १६ करोड युरोको प्रस्ताव राखेको छ, पेरिस सेन्ट जर्मेन (पीएसजी) सामु ।
फ्रान्सेली क्लबसँग एमबापेको खालि एक वर्षको अनुबन्ध मात्र बाँकी छ र अर्को सिजन उनी नि:शुल्क उपलब्ध हुन सक्ने खेलाडी पनि हुन् ।
जे होस, सबै कुरा मिल्यो र उनी स्पेनी राजधानी आए भने रियलले किनेका खेलाडीमध्ये एमबापे सबैभन्दा महँगा खेलाडी हुनेछन्, क्लब इतिहासमै ।
यस्तोमा रियलले अहिलेसम्म किनेका पाँच महँगा खेलाडी को को हुन् त ? इतिहासमा फर्केर हेर्दा यी नाम आउने छन् ।
५. हामेस रोडरिग्वेज
सन् २०१४ को विश्वकपमा मज्जाले खेलेपछि हामेस रोडरिग्वेजका लागि रियलले सात करोड ६० लाख युरो तिरेको थियो । रियल अध्यक्ष फियारेन्टिना पेरेजलाई खुबै मन परेका खेलाडी हुन्, उनी ।

४. जिनेदिन जिदान
सन् २००१ मा जिनेदिन जिदान युभेन्ट्सबाट आएका हुन्, सात करोड ९० लाख युरोमा । उनी आए लगतै रियलले च्याम्पियन्स लिग पनि जितेका थियो । पछि उनी प्रशिक्षकका रूपमा पनि क्लबमा आवद्ध भए ।

३. क्रिस्टियानो रोनाल्डो
सन् २००९ मा पेरेजले आफू अध्यक्ष भएको दोस्रो कार्यकालमा क्रिस्टियानो रोनाल्डो किनेका थिए र उनको मूल्य थियो, ९ करोड ५० लाख युरो । म्यानचेस्टर युनाइटेडका लागि उत्कृष्ट प्रदर्शन गरेपछि रोनाल्डो त्यति बेला सबैको नजरमा थिए ।

२. गेराथ बेल
पेरेज कुनै पनि हातमा गेराथ बेललाई रियल ल्याउन चाहन्थे । उनले चाहेपछि क्लबले टोटनहमका लागि १० करोड १० लाख युरो तिरेको थियो । त्यति बेला त्यो नयाँ कीर्तिमान थियो ।

१. एडेन हेजार्ड
चेल्सीमा छँदा एडन हेजार्डको कुनै जवाफ थिएन, त्यसैले रियलले आँखा चिम्लेर सन् २०१९ मा उनका लागि ११ करोड ६० लाख युरो तिरेको थियो । यस्तोमा उनी रियलले किनेका अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी हुन् । तर उनले के यो मूल्यलाई न्याय गर्न सकेका छैनन् त ? सायद पटक्कै छैनन् ।

–मार्काको सहयोगमा ।