काठमाडौं । अन्तत: इंग्लिस कप्तान ह्यारी केनले टोटनहम नछाड्ने भएका छन् । उनी आफैले बुधबार घोषणा गरेका छन्, ‘म टोटनहम मै रहने छुं ।’ त्यति मात्र होइन, क्लबलाई सफलता दिलाउन उनले शतप्रतिशत योगदान दिने पनि बताएका छन् । नत्र म्यानचेस्टर सिटी उनलाई किन्न इच्छुक थियो, तर खेलाडीको मूल्यमा कुरा मिलेको थिएन् ।
केनकै दाबी मान्ने हो भने टोटनहममा प्रमुख ड्यानी लेभीले पछिल्लो सिजन उनलाई अन्यत्र जान दिने भलाद्मी वचन दिएका थिए । तर तिनै लेभीले २८ वर्षीय स्टार स्ट्राइकरको स्थानान्तरमा कुनै रूचि दिएनन् । केनले भर्खरै इंग्लिस प्रिमियर लिगमा टोटनहमका लागि खेलिसकेका पनि छन्, उल्भ्सविरुद्ध प्राप्त १–० जितमा ।

आइतबारको त्यस खेलमा उनी सब्टिच्युटका रूपमा मैदान छिरेका थिए । केनले सामाजिक संजालमा लेखेका छन्, ‘टोटनहम समर्थकबाट मैले जुन प्रकारको माया पाएको छुं, त्यसबाट म खुसी छुं । म अबको गर्मी मौसमसम्म टोटनहममै रहने छुं ।’ त्यो भनेको कम्तीमा अर्को ट्रान्सफर विन्डोसम्म । जनवरीमा फेरि नयाँट्रान्सफर विन्डो खुल्नेछ ।
केनको यो भनाइलाई प्रशिक्षक नुनो सान्तोले निकै खुसीको समाचार पनि भनेका छन् । सायद पूरा प्रकरणमा सबैभन्दा खुसी क्लब अध्यक्ष लेभी नै हुनेछन् । उनले केनलाई अन्यत्र जानबाट रोक्ने प्रयास गरे र सफल पनि भए । उनको जिद्दी काम आएको छ । एक प्रकारले पूरा घटनाक्रमलाई टोटनहमले जितेको ‘केन’ युद्ध पनि भन्न सकिनेछ ।
–बीबीसीको सहयोगमा ।