काठमाडौं । नेपालमा हुने तय भएको एएफसी महिला एसियन कप-२०२२ छनोट उज्वेकिस्तानमा सरेको छ ।
अर्को वर्ष जनवरी २० देखि भारतमा हुने प्रतियोगिताको छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपाल रहेको समूहमा हङकङ र फिलिपिन्स छन् ।
यस समूहको छनोट चरणको खेल नेपालको दशरथ रंगशालामा हुने तय भएको थियो ।
प्रतियोगिताका छनोट चरणका खेलहरु सेप्टेम्बर १३ देखि २५ (२८ भदौ देखि ९ असोज) सम्म हुने तय भएको थियो ।
तर, एसियाली फुटबल महासंघ (एएफसी)ले कोभिड संक्रमणको बढ्दो असरका कारण नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको हो ।
एन्फाका अनुसार एएफसीले कोभिडको बढ्दो प्रभावका कारण नेपाल, बंगलादेश र इन्डोनेसियाबाट छनोट खेलहरु बाहिर निकालेको छ ।
'कोभिडका कारण नेपालमा छनोट खेल नहुने भएको छ । उज्वेकिस्तानमा नेपालले एसिया कप छनोटको खेलहरु खेल्नेछ ।' एन्फा महासचिव इन्द्रमान तुलाधरले खेलपाटीसंग भने ।
एसिया कप छनोटका लागि नेपालले तयारी तिव्र बनाएको छ । एन्फाले महिला टिमलाई बन्द प्रशिक्षणमा राखेर छनोटको तयारीमा राखेको छ ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् ।
एन्फाले बंगलादेश लगायतका देशसंग मैत्रीपूर्ण फुटबलको तयारी समेत गरेको छ ।