काठमाडौं । 'ए' डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले राष्ट्रिय टिमका मिडफिल्डर मनिष डाँगीलाई अनुबन्ध गरेको छ ।
साविकको 'ए' डिभिजन लिग विजेता मछिन्द्रले आइतबार मिडफिल्डर मनिषलाई अनुबन्ध गरिएको जनाएको छ ।
एक लाख बढी पारिश्रमिक दिने गरि मनिषलाई अनुबन्ध गरिएको मछिन्द्र क्लब स्रोतले जनाएको छ ।
नयाँ सिजनको लिगका लागि मछिन्द्रले मनिषलाई अनुबन्ध गरेको हो ।
'ए' डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ।
मनिषले पहिलो पटक 'ए' डिभिजन लिग खेल्न लागेका हुन् ।
मनिषलाई अनुबन्धनका लागि घरेलु फुटबलका ठुला क्लबले नजर लगाएका थिए । मनाङ, थ्री स्टार क्लबले समेत मनिषलाई अनुबन्ध गर्न चाहेका थिए । तर मनिषले अन्तिममा मछिन्द्रलाई रोजे ।
विश्वकप छनोटको तयारी स्वरुपमा इराकमा भएको मैत्रीपूर्ण खेलबाट मनिषले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उनले डेब्यु खेलमै राष्ट्रिय टिमका लागि गोल गरेका थिए ।
दक्षिण कोरियाको फुटबल एकेडेमीमा फुटबल कला निखारेका मनिषले विश्वकप छनोट अन्तर्गत चाइनिज ताईपे, जोर्डन र अष्ट्रेलियाविरुद्ध खेलेका थिए ।
उनी साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समेत सहभागी छन् । बन्द प्रशिक्षणमा समावेश खेलाडीलाई १० दिनको आराम दिईएको थियो ।
बन्द प्रशिक्षणमा फर्कनु दुई दिन अघि उनले मछिन्द्रसंग औपचारिक अनुबन्धको प्रक्रिया पुरा गरेका हुन् ।