एजेन्सी । लियोनल मेस्सीले बार्सिलोना छोड्ने खबरले विश्व फुटबल तरंगित छ । अर्जेन्टिनी सुपरस्टार कहाँ जान्छन् भन्नेबारे जिज्ञासाहरु चलिरहेका छन् ।
प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीलाई ३४ वर्षिय खेलाडीको सम्भावित गन्तव्यको रुपमा हेरिएको छ । स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीको सम्भावित गन्तव्य सिटी हुन सक्छ । तर सिटीले भर्खरैमात्र ज्याक ग्रिलिसलाई कीर्तिमानी सय मिलियन पाउण्डमा किनेको छ ।
सिटीले टोटेनहमका फरवार्ड ह्यारी केनलाई समेत अनुबन्धको प्रयास गरिरहेको छ । तर सम्झौता निकै टाढा देखिएको छ । विकसित घटनाक्रमले सिटी इङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडी अनुबन्धको कोशिशबाट टाढा जान सक्छ र मेस्सी र ग्वार्डिओलाको पुनर्मिलनमा ध्यान केन्द्रित गर्न सक्छन् ।
मेस्सीको अर्को सम्भावित गन्तव्यको रुपमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई समेत हेरिएको छ । तर वित्तिय नोक्सानका कारण मेस्सी पीएसजी आउने सम्भावना कम छ ।
फ्रान्सेली क्लबको ध्यान केलियन एम्बाप्पेको सम्झौता नविकरणमा छ । पीएसजीले यस सिजनका लागि मात्र सर्जियो रामोस, जियानलुइगी डोनारुम्मा, आच्राफ हाकिमी र जर्जियो विडनाल्डमलाई अनुबन्ध गरेको छ ।
फ्रान्सको कर नियमले समेत मेस्सीको सरुवालाई कठिन बनाउनेछ । मेस्सीले प्रतिवर्ष ३० मिलियन युरो प्राप्त गर्दै आएका छन् । यसले गर्दा मेस्सीलाई ७० मिलियन युरो दिनुपर्ने हुन्छ ।
मेजर लिग सकरले समेत पछिल्लो अवस्थालाई नियालीरहेको छ । तर मेस्सीले थप दुई सिजन बार्सिलोनामै बस्न चाहेका थिए । उनी अझै केही ठुला उपाधि जित्न चाहन्छन्, त्यसका लागि आफुलाई सक्षम मान्छन् ।
महादेश छाड्नु अघि मेस्सी कम्तिमा सोही समय यरोपमै रहन चाहन्छन् ।